तोते बोली बोल्ने केटी

माथी भनीएकी केटी मेरी आफ्नै सान् बहिनी हो । पहिले तोते बोल्थी मेरी सान् बहिनी । सानै हुदा त स्वभाविक पनि थियो तर टिनएज पुग्दासम्म उसको बोली तोते नै सुनिन्थ्यो । उसलाई आफ्नो बोली तोते सुनिन्छ भन्ने थाहा नै थिएन रे । अरुले भन्दा पनि आफ्नो बोली त्यस्तो छ र भन्नेमा विश्वास लाग्थेन रे । यद्यपि उसको त्यहि बोली, बालापनजस्तो स्वभाव, हाँसो र कोमल अनि निर्दोष अनुहार भने सबै आफन्त र छरछिमेकीले मन पराउथे । त्यसैले त कम्ता माया पाउँथिन उसले सबैबाट । उसै त घरकै कान्छो सन्तान त्यसमाथी तोते बोली बोल्ने फुच्ची केटी । सबैको हाई हाई र मायाको पात्र थिई । कहिले काही पारिवारिक जमघटमा उसको बोली अनि निर्दोषपनको चर्चा हुन्थ्यो । भन्थे, “जन्मेर यति राम्री र मायालाग्दी हुनलाई रहेछ र पो त्यस्तो औषधीलाई पनि जितेर जन्मेकी यो केटी ।” यस्तो कुरा सुन्दा पहिले त हामीले बुझेकै थिएनौं । म हुर्किसकेको सन्तान, मैले त बुझेको थिइन भने त्यो त झन् बच्ची । तर नबुझे पनि आफ्नो तारिफ गरेको सम्झेर बेफिक्री हाँसीदिन्थी र सबैलाई फेरी हायलकायल पारी दिन्थी । 

सानी उपनाम दिएका छौं उसलाई हामी सबैले । सबैले माया गरी सानी नै भनी बोलाउछन् । हेर्दा त परिवारमै सबैभन्दा अग्लो हाइट छ उसको । विस्तारै सानी ठूली हुदै गई । सानीले प्लस टु पास गरी । मानिसहरु त्यतिबेला सम्म पनि उसको बोली तोते नै सुनिन्छ भन्ने कुरा गरिराख्थे । उसलाई कहिलेकाही बोल्दा आफ्नो जिब्रो लरबरिएको जस्तो पनि लाग्थ्यो अरे । तर त्यति ध्यान दिएकी थिइन रे । त्यसपछि सानीले गाँउकै एउटा बैङ्कमा काम गर्न थाली । कामगर्न थाले पछि धेरै मान्छेसँग् डिल गर्नुपर्ने हुन थाल्यो । उसको आत्मविश्वास बिस्तारै बढ्दै गयो । सानी अब व्यबहारले ठूली हुन थाली । विस्तारै बिस्तारै मानिसहरुले उसको बोली तोते सुनिन्छ भनेको सुनिन छाड्यो । बरु त्यसको साटो उसका अरुनै राम्रा आनीबानीको चर्चाले स्थान लिदै गयो ।
सानी

अचेल सानी र उसकी दिदी ठूली समय मिलेको बेला विगतका यस्तै कुराहरु गर्दै हाँस्दै समय विताउछन् । एक अर्काको विगतका कहानीहरु खोतल्छन् । मानिसलाई सबैभन्दा मनपर्ने काम नै आफ्नो कुरा भन्नु हो । आफ्नोबारे अरुलाई बताउनु हो र यसो गर्नु भनेको आफूबारे अझ जान्नु हो । आफूले आफैलाई चिन्नु हो । आफूबारे अझ स्पष्ट हुनु पनि हो । सानी र ठूली पनि यहि सेरोफेरो मै विगतका कुराहरु गर्ने गर्छन् । यहि सिलसिलामा आफू पहिले किन तोते बोल्ने खालकी थिई भनेर सानीले अस्ती कुरा गरी । कसरी त्यो अवस्थाबाट माथी उठी त्यो पनि उसैले भनेकी हो । उसले आमा हो कि कुनै आफन्तबाट सुनेको ऊ गर्भमा हुदा आमाले सानी नजन्मियोस् भनेर भ्रुण मार्ने औषधी खानुभएको थियो रे । तर त्यो औषधीलाई जितेर सानी जन्मिएकी थिई रे । र सायद त्यसकै यदाकदा असर हुनसक्छ, सानी सानोमा कमजोर थिई । धेरै विरामी भइरहन्थी । हिड्न पनि दह्रो खुट्टा टेक्न नसक्ने हुदा कान्छी छ्यामा (सानीमा)ले उसलाई त्यस्तै लुलो मान्छेलाई जनाउने खालको नाम दिनुभएको थियो ।

आमाले त्यसो किन गर्नुभयो हामीलाई एकिन छैन । तर हाम्रो घरमा आउने धेरै जसो आफन्तले “तिमरुका छोरी नै छोरी धेरै भए, अब छोरो जन्माउनु प¥यो” भनेर बारम्बार भन्ने गरेको कुरा भने मलाई राम्रोसँग याद छ । आमा त्यति नजाती मान्छे हुदै हुनुहुन्न । बुवाले पनि छोरै जन्माउनुपर्छ  भनी भन्नुभयो होला जस्तो उनको बोली र व्यबहार देखेर मलाई लाग्दैन । तर यो निर्दयी समाज छ सबैको घर घरमा टाङ्ग अड्याउन आइपुगी हाल्छ । आफ्नो अनुकूल बनाएका मान्यता र विचारहरु अरुलाई जर्बजस्ती लाद्न खोजी हाल्छ । आमा वुबा पनि त्यसैको चेपुवामा पर्नुभयो भन्ने दुबै दिदीबैनीलाई अस्ती लागेको कुरा हो ! यी आरोह अवरोहलाई पार गर्दागर्दै केही अप्रिय कहानी हामीबीच घटेन भन्ने कुराले अचेल उहाँहरुलाई सन्तोष नै लागेको होला । मलाई पनि त्यस्तै लाग्छ जब सान्बहिनीलाई आफू वरपर पाउँछु एउटा परिपक्व साथीको रुपमा । 

अचेल सानी धेरै नै ठूली भएकी छे । साथसाथै राम्री , बुद्धिमानी अनि साहसिली पनि । सबैजना फेरी पहिले जस्तै उसको कुरा गर्छन् । भन्छन् “फलानोको तीनटी छोरी मध्ये सबैभन्दा राम्री त सानी पो भई हौं ।” 
मलाई त झन् आफ्नै बहिनी राम्री लाग्ने नै भयो । ;) तर जति ठुली भए पनि मेरो आँखामा भने उही फुच्ची, कलिली अनि तोते बोल्ने सानी केटीको प्रतिबिम्ब अझै नाच्न छोडेको छैन ! 

Comments

Popular Posts

टुक्रा टुक्री खुशीहरु......

बुख्याचा

परिवर्तित तिज र पुरुष सहभागिता