टुक्रा टुक्री खुशीहरु......
भुमिका : किशोरवयका केही यस्ता दिनहरु सम्झिन्छु जतिबेला आफ्नो डायरीमा आफना राम्रा र नराम्रा (बिकासे भाषामा भन्नुपर्दा सकारात्मक र सुधारात्मक ) पक्षहरुको सुची बनाइन्थ्यो । सुची पढेर मख्ख पनि परिन्थ्यो । राम्रा पक्षहरुले त यसै पनि मख्ख पार्थे नराम्राहरु देखेर पनि त्यति दुख लाग्थेन । किनकी आफना नराम्रा पक्षहरु के के हुन भन्ने आफुलाई थाहा छ र आगामी दिनहरुमा त्यसलाई सुधार गर्न सकिन्छ है भन्ने यथार्थ बोधले दुखी होइन उत्साहित नै बनाउदो रहेछ । जसलाई आजभन्दा भोलि र यो साल भन्दा अर्को साल माझेर राम्रो बनाउने अठोट मनभरि लिएको पनि हुन्थे । यो क्रम अझ जारी भइरहेकोले के कति आफुलाइ माझ्न सफल भए भन्ने कुराको निचोड सायद अहिले नै गर्ने बेला भएको छैन । यद्यपि ती कुराहरु अहिले सम्झिदा पनि अनौठो खालको रमाइलो भने लाग्दो रहेछ । यी त भए स्वमुल्याङ्कनका कुरा आफुमै सिमित आफना गन्थन मन्थनका कुरा .....तर जीबनका केही क्षण अरुले आफनो मुल्याङ्कन गरी पृष्ठपोषण दिएका घडीहरु पनि मेरो मानसपटलमा ताजै छन् र यदाकदा स्मृतीमाझ आएर मलाई झकझक्याएर जान्छन् । खुशी दिएर जान्छन् । ती क्षणहरु केही यस्ता छन् ।