टुक्रा टुक्री खुशीहरु......

भुमिका :
किशोरवयका केही यस्ता दिनहरु सम्झिन्छु जतिबेला आफ्नो डायरीमा आफना राम्रा र नराम्रा (बिकासे भाषामा भन्नुपर्दा सकारात्मक र सुधारात्मक ) पक्षहरुको सुची बनाइन्थ्यो । सुची  पढेर मख्ख पनि परिन्थ्यो । राम्रा पक्षहरुले त यसै पनि मख्ख पार्थे नराम्राहरु देखेर पनि त्यति दुख लाग्थेन । किनकी आफना नराम्रा पक्षहरु के के हुन भन्ने आफुलाई थाहा छ र आगामी दिनहरुमा त्यसलाई सुधार गर्न सकिन्छ है भन्ने यथार्थ बोधले दुखी होइन उत्साहित नै बनाउदो रहेछ । जसलाई आजभन्दा भोलि र यो साल भन्दा अर्को साल माझेर राम्रो बनाउने अठोट मनभरि लिएको पनि हुन्थे । यो क्रम अझ जारी भइरहेकोले के कति आफुलाइ माझ्न सफल भए भन्ने कुराको निचोड सायद अहिले नै गर्ने बेला भएको छैन । यद्यपि ती कुराहरु अहिले सम्झिदा पनि अनौठो खालको रमाइलो भने लाग्दो रहेछ ।
यी त भए स्वमुल्याङ्कनका कुरा आफुमै सिमित आफना गन्थन मन्थनका कुरा .....तर जीबनका केही क्षण अरुले आफनो मुल्याङ्कन गरी पृष्ठपोषण दिएका घडीहरु पनि मेरो मानसपटलमा ताजै छन् र यदाकदा स्मृतीमाझ आएर मलाई झकझक्याएर जान्छन् । खुशी दिएर जान्छन् । ती क्षणहरु केही यस्ता छन् ।
प्रसङ्ग – १ 


२०७० सालतिर भर्खरै जागिर लागेको ठाउँमा स्टाफ रिट्रिटको कार्यक्रम थियो । सहभागी हुने मौका पाएँ । त्यहाँ यस्तै प्रकृतिको एउटा खेल खेलाइयो । स्टिकी नोट जस्तो कागजका टुक्राहरुमा आफनो एकएक सहकर्मीका बारे आफुलाई मन परेको कुरा लेख्ने र टेबुलमै छोडिदिने । सबैले सबैको बारे केही न केही लेख्ने । सम्बन्धित सहकर्मीहरु घुम्दै फिर्दै आफनो नामको चिठ्ठा लिएर जाने र खोलेर हेर्ने गर्दै थिएँ । मैले पनि दुई चार जना भर्खर परिचित सहकर्मीहरुको आफुलाई मन परेका कुराहरु लेखेर छोडिदिए । धेरैलाई चिनेको थिइन त्यसैले धेरैको बारे लेख्न सकिन । ५/७ वटा जति चिठ्ठा आफनो नाममा पनि लेखिएर छोडिएको भेटिएँ । खुशी हुदै टिपेर ल्याएँ । पढेर खुशी लाग्यो त भनिरहनै नपर्ला । प्रशंसा, हौसलाका शब्दहरु कसलाई पो मन नपर्ला र ? त्यसमाथि भर्खरै चिनजान भएका साथीहरुले आफना बारेमा नोटिस गरि लेखि पठाएका त्यति राम्रा सन्देशहरु पढेर को मख्ख नपरी बस्न सक्ला त?
प्रसङ्ग – २


२०६५/०६६ तिर आफुले ३ बर्ष पढाएको गाउँकै बोर्डिङ्ग छोड्ने क्रममा थिएँ । कारण गाउँको पढाई सकिसकेको थियो र अरु अझै पढ्ने अभिलाषा बोकी राजधानी तिर हान्निने मौका छोप्नु थियो । बिदाइको अन्तिम घडीमा आफुले पढाएका साना साना बिधार्थीहरुले रुपिया, मोहर जम्मा गरेर मेरो लागि फेयरवेल गिफ्ट स्वरुप एउटा डायरी किनी ल्याएका रहेछन । खुशी हुदै ग्रहण गरे । मलाई  त्यतिले मात्र पुगेन । सम्झनाका धेरै मिठा मिठा पलहरु अझै संगाल्न मन लाग्यो । त्यसैले आफु कक्षा शिक्षक भएको कक्षाका सबै बिधार्थीहरुलाई कागजको एउटा/एउटा टुक्रामा एउटामा मैले पढाउदाका अबधिको उनीहरुलाई मनपरेको कुनै एकचीज र अर्कोमा उनीहरुलाई लागेको मेरो नराम्रो,सुधार गर्नुपर्ने एउटा कुरा लेख्न अनुरोध गरेँ । बरु त्यसमा आफ्नो नाम नलेख्न भने । सबैले उत्साहपूर्ण तरिकाले आफ्नो कापीको टुक्रामा केही लेख्दै पट्याएर मलाई दिदै गरें । घर आएर एक एक टुक्रा खोली हेरे ।........................
र अहिले पनि ती टुक्राहरु पढें भने अलौकिक खालको खुशी प्राप्त हुन्छ जुन कसैले मबाट खासेर लान सक्दैन ।
प्रसङ्ग ३
२०६३/०६४ सालतिर हुनुपर्छ, गाँउकै आफू आबध्द एक  महिला समूहको आयोजनामा नेतृत्व विकास तालिममा सहभागी हुने मौका पाएको थिएँ । प्रशिक्षकले नेतृत्वमा रहने मान्छेले आफ्नो सहकर्मीहरुलाई कसरी पृष्ठपोषण दिनुपर्छ भन्ने कुराको चर्चा गर्दै हुनुहुन्थ्यो । पृष्ठपोषण दिदा जहिल्यै पनि सुरुमा राम्रा पक्षहरुको चर्चा गर्नुपर्ने अनि मात्र विस्तारै उसले सुधार गर्नुपर्ने , उसका नराम्रा पक्षहरुबारे बताउनुपर्ने कुरा उनी भनिरहेका थिए । यहि क्रममा सहभागीहरुबीच पृष्ठपोषणको अभ्यास गर्न लगाइयो र अभ्यास गर्नका लागि नमुनाको रुपमा म छानिएँ । सबैले एक एक गर्दै मेरो कुनै एक राम्रो पक्ष र अर्को सुधार गर्नुपर्ने पक्षको बारेमा बताउदै गएँ । र क्रमैसँग आफ्नी आमा, उनका संगिनी र आफ्नै सँगिनीहरुबाट आएका ती कुरा मेरो दिमागमा सुनौला अक्षरले छापिदै गएँ । सबैले आ आफ्नो हिसाबले मेरो राम्रो पक्षबारे बताए । सुधार गर्नुपर्ने पक्षमा म भोलिवादको ज्यादा भक्त भएको, अल्छि भएको, अति कम बोल्ने र सामाजिक छलफलमा भाग नलिने आदि इत्यादि खालको टिप्पणी गरे । जुन आखिर सत्य पनि थियो । 

जसले जे टिप्पणी गरे, ती सबै मेरा लागि खास छन् । किनकी ती केही मेरा बालसखीहरुबाट, केही आमाका सहेलीहरुबाट र केही आफ्नै आमाबाट आएका टिप्पणीहरु थिएँ। हो त्यो संस्थामा हामी दुबै आमा छोरी आबध्द  थियौं र सो तालिममा पनि हामी दुबै सहभागी भएका थियौं। 

त्यो पल निकै सुनौलो अनि मिठो  थियो र जीवनमा सायदै दोहोरिएला भन्ने लाग्छ जहाँ आफ्नी आमाको मुखबाट त्यत्रो मासको अगाडि एक वचन तारिफ र अर्को बचन गाली पाएको थिएँ । आफ्नो सन्तान सबै आमाहरुलाई संसारकै सुन्दर सिर्जना जस्तो लाग्छ । यसमा केही नौलो कुरा नै छैन तर सितिमिती मनको कुरा नखोल्ने र खुलेआम माया देखाउन नसक्ने आमाको मुखबाट आफ्नी १९/२० वर्षकी छोरी प्रतिको भरोसा र गुनासाका त्यती सुन्दर कुराहरु सुन्न पाउनु मेरो अहोभाग्य थियो र त्यो पनि त्यतिसारा मानिसहरुका बीच।

 बस् त्यहि क्षणदेखि मैले चाहि आफूमा छुट्टै उर्जा भरिदै आएको पाएँ । सायद त्यहि उर्जा मेरो मनको कुनै एउटा कुनामा अझै सुरक्षित छ जस्तो लाग्छ र कतिपय कठिन घडिहरुमा यसले मदत गर्न आए जस्तो महशुस हुन्छ । त्यसैले त कठिन घडिका पनि सुन्दर पक्षहरुलाई केलाउन मन लाग्छ ।
एकदिन होस्टेल देखि ट्युसन सेन्टरसम्मको बीचबाटोमा मेरी सखी निरुले कुरै कुरामा झ्वाट्ट भनेकी थी  “तेरो कस्तो जो कोहीको तारिफ गरिहाल्ने बानी छ है ? जसमा पनि केही न केही राम्रो खोजीराख्ने, राम्रो देखिहाल्ने । ” 
सायद त्यहि पृष्ठपोषणको अभ्यास थियो र आमाका ती दुई अमुल्य वचन जसले मेरो अन्तरआत्मा भित्र नै हरेक कोहीमा राम्रा र नराम्रा दुबै पक्ष हुन्छन् भन्ने गहिरो छाप छोडेको थियो । त्यसैको असर होला राम्रो पक्ष देख्ने वित्तिकै त्यसको असर अनुमान गरी तारिफ गरिहाल्न मन लाग्छ । पृष्ठपोषण भने निकटता अथवा मागेको खण्डमा दिने गरेको छु । 

यी पलहरुसँग साक्षात्कार हुन पाउनु र अहिले ती पलहरुलाई सम्झिएर खुशी हुन पाउनु महत्वपुर्ण उपलब्धी हो भन्ने ठान्छु । किनकी ताली र गाली कसैले कसैलाई यत्तिकै दिदैन, दिन सक्दैन । तीनै ताली र गाली हुन् जसले हाम्रो जीवनलाई रङ्गीन, अर्थपूर्ण, बाँच्न लायक, सुधार गर्न लालायित र आत्मविश्वासले भरिपूर्ण बनाउछ । 

अझ त्यसमा पनि मेरो एउटै सरल सुत्र छ : जीवनमा कसैलाई भलै गाली दिन नसकिएला तर ताली दिन भने कहिल्यै पछाडि हट्नु हुदैन । अस्तु  !

Comments

Popular Posts

बुख्याचा

परिवर्तित तिज र पुरुष सहभागिता