तोते बोली बोल्ने केटी
माथी भनीएकी केटी मेरी आफ्नै सान् बहिनी हो । पहिले तोते बोल्थी मेरी सान् बहिनी । सानै हुदा त स्वभाविक पनि थियो तर टिनएज पुग्दासम्म उसको बोली तोते नै सुनिन्थ्यो । उसलाई आफ्नो बोली तोते सुनिन्छ भन्ने थाहा नै थिएन रे । अरुले भन्दा पनि आफ्नो बोली त्यस्तो छ र भन्नेमा विश्वास लाग्थेन रे । यद्यपि उसको त्यहि बोली, बालापनजस्तो स्वभाव, हाँसो र कोमल अनि निर्दोष अनुहार भने सबै आफन्त र छरछिमेकीले मन पराउथे । त्यसैले त कम्ता माया पाउँथिन उसले सबैबाट । उसै त घरकै कान्छो सन्तान त्यसमाथी तोते बोली बोल्ने फुच्ची केटी । सबैको हाई हाई र मायाको पात्र थिई । कहिले काही पारिवारिक जमघटमा उसको बोली अनि निर्दोषपनको चर्चा हुन्थ्यो । भन्थे, “जन्मेर यति राम्री र मायालाग्दी हुनलाई रहेछ र पो त्यस्तो औषधीलाई पनि जितेर जन्मेकी यो केटी ।” यस्तो कुरा सुन्दा पहिले त हामीले बुझेकै थिएनौं । म हुर्किसकेको सन्तान, मैले त बुझेको थिइन भने त्यो त झन् बच्ची । तर नबुझे पनि आफ्नो तारिफ गरेको सम्झेर बेफिक्री हाँसीदिन्थी र सबैलाई फेरी हायलकायल पारी दिन्थी । सानी उपनाम दिएका छौं उसलाई हामी सबैले । सबैले माया गरी सानी नै ...