आफ्नै भागको भूकम्प
अन्ततः एक हप्ताको प्रयास पछि हाकिमबाट बिदा स्वीकृत गराएँ । घर नगएको ६ महिना बेसि भइसकेको थियो । मनको कुरा धेरै नखोल्ने आमा पनि घर कहिले आउने ? कस्तो अफिस हो त तेरो विदै नदिने भनेर सोध्न थाल्नु भएको थियो । दुई चारदिन पर्खिनु न आमा म कुरा मिलाउदै छु क्या भनेर उहाँलाई थुमथुमाएर राख्दै थिएँ । १८ वैशाख देखि २२ सम्मको विदा मिल्यो भनेर खबर गर्न पाउदा पनि घरमा छाएको बेग्लै उमङ्गको कल्पना गर्दै आफै रोमाञ्चित भएकी थिएँ । बैशाख १९ गतेको आफ्नो जन्मदिन यसपाली आमाको हातबाट रमाइलोसँग टिका थापेर मनाउन पाउने भएँ भनेर झनै मख्ख थिएँ । यसका अलावा हजुरआमा , आमा र क्षामालाई के के लागिदिन त्यसको लिस्ट पनि तयारीको क्रममा थियो । तर विडम्बना भूकम्पले मेरो योजनालाई टेरेन । मेरो मात्र हैन त्यसले म जस्ता लाखौ अज्ञानी मनुष्यहरुको योजना , सपना , चाहना केहीलाई टेरेन र बज्री छाड्यो वैशाख १२ को त्यो मध्यान्नमा एउटा क्रुर शाषकले रैतीमाथि जर्बजस्ती लाद्ने निरंकुशता जसरी ! प्रकृतिको त्यो भयंङ्कर निरङ्कुशताको अगाडी हाम्रो केही जोड चलेन र हामी असरल्ल पछारियौं चौरमा , आँगनमा , सडकमा र सँगसँगै पछारिए हाम्रा म...