लाज (भाग -१)

स्कूलमा पढाउन थालेको यो सहित ३ वर्ष हुन लाग्यो । अर्को वर्ष काम छोडेर पढ्न शहर पस्ने योजना छ । पढाउन थाले देखि खुब राम्रो मिलाएर साडी लगाउन आउने भा’की छु । मिसहरुलाई अनिवार्य साडीको नियम राखेको छ स्कूलले ।
सबै क्लास सकेर घर फर्किने तरखरमा थिएँ । अन्य स्टाफहरु सबै घर हिडिसकेछन् । त्यत्तिनैखेर एउटा अपरिचित अनुहार अर्पझट अफिसभित्र पस्यो । उसको प्रवेश र नियत आँकलन गर्दा धेरै दिन देखि उसले मेरो दैनिकी पछ्याइ रहे झैं भान भयो । अब उसको प्रवृत्ति पोखिने पालो थियो, एकाएक म माथि जाइलाग्यो । नियत भन्नै परोइन, कौरव सभामा द्रौपदीको चीरहरण गरे झैं उसले मेरो सारी तान्यो ! म भाग्न खोजे । झनै उसको पञ्जामा जकडिएँ । तानातानमा त्यो सूतिको साडी कति टुक्रा भयो । पेटिकोट र व्लाउजको त नामो निशान रहेन । म डरले कालो निलो देखिन थालीसकेको थिएँ । आफ्नो अर्धनग्न शरीरलाई आफैले हेर्न सकिन । धेरै डरले अनि अलिकति लाजले । त्यसरी आफ्नै शरीरलाई पहिले कहिल्यै नियालेको भए न हो !
त्यत्तिनै खेर स्कूलमा काम गर्ने दिदी बास बस्न टुप्लुक्क आइपुग्नु भयो । मलाई भित्र कराइरहेको देखेर सिसाको झ््याल फोडी चुकुल खोल्न लाग्नुभो । त्यो मान्छे अर्को ढोकाबाट टाप ठोक्यो । मलाई भगवान भेटेको जस्तो राहत भयो । अब डर भन्दा ज्यादा लाज हावी हुने पालो थियो । “दिदी स्कूल भित्र कपडा भए मलाई ल्याइदिनु न” भनें ।
“ला मिस, आजै सपै कपडा धोएको, सिरक र तन्नाको खोल समेत”! म गलेर फत्तकै भएँ । अब घर कसरी जानु ?
जसोतसो स्कूलमै ओड्न राखिएको कम्बल जिउमा बेरबार गरें अनि ७ मिनेटको बाटो, २–२ पाइला चाल्दै (कम्बल बेरेर हिड्न गाह्रो हुने रहेछ ) १५ मिनेटमा घर पुगें । आमालाई पिढींमै देखेर मनमा भक्कानो फुट्यो । बाटो वारीबाटै बर्बरी आँसु खसाल्दै हात पसारेर भनें, “आमा मलाई लुगा दिनुहोस् न् ”!!
आमा भन्नुहुन्छ, “ला के भयो तँलाई छोरी? लुगा त आजै सबै धोइवरी सुकाएको चिसै छ, सिरक डसनाको खोल समेत” ! मलाई मर्नु भयो । आफ्नो लाज ढाक्न अझै केही घन्टा कुर्नुपर्ने भो । म त्यही बाटोमै ढलें। चारैतिर अन्धकार छायो ।
झल्यास्सँ ब्युझें । सपनामा रोएको आँसु विपनामै पनि बगिरहेको रहेछ । यस्तो पनि हुदो रहेछ भन्ने मलाई पहिलो पल्ट ज्ञान भो । उठिसके पछि पनि मलाई औधी आफ्नो माया लागिरहेको थियो । सपनामै किन नहोस्, आफ्नो त्यस्तो दयनीय अवस्था देखेर साह्रै मन कुडिँइ रहेको रहेछ ।
धरातलमा आइसकेपछि, अब झन सोचाइले पागल बन्ने पालो थियो । सोचे त्यस्तो आपत्कालीन, दयनीय अवस्थामा अझ सपनामा त्यो पनि एक जोर लुगाकै चिन्ताले फतक्क गल्नुपर्ने कस्तो लाजको भारी बोकेर हिड्दा रहेछौं हामी? सपनामा पनि त्यो भारीले थिचेर त्यति असाहाय बनाइदिदो रहेछ । के मैले देखेको सपना (चीरहरण बाहेक)मेरो दाई वा भाईले देखेको भए, विपनामै पनि उ यस्तरी रोइरहेको हुन्थ्यो होला ? सायद हुन्थेन ! त्यसैले त भनिन्छ नि, लाज स्त्रीको गहना हो । धन्य स्त्रीधन ! लज्जा शरणम् !!

Comments

Post a Comment

Popular Posts

टुक्रा टुक्री खुशीहरु......

बुख्याचा

परिवर्तित तिज र पुरुष सहभागिता