एउटा रोचक प्रेम प्रस्ताब
भ्यालेन्टाइन
पर्व हिडेको नि एक हप्ता बढी भै सक्यो | यस्तो झिना मसिना कुरा के
लेखिरहनु भन्ने सोच्दै थिएँ | तर नलेखी मन नै नमान्ला
जस्तो भो | यसरी लेखाइमा आफुलाई
प्रकट गर्नु पनि नशा जत्तिकै हुदो रहेछ | त्यसमाथि साथीभाई संगै
कुरा गरे जसरी लेख्ने बानी छ आफ्नो त !
गाउँमा जब
रोपाईको मारामार हुन्छ मेलापातको लागि पर्म भने जस्तो ….तँ फलानो दिन मेरो मेलामा आइज न है
भने जस्तै हुन खोज्द्दै थियो मलाई यो पालिको भ्यालेन्टाइन डे | एक हप्ता अगाडी नै मेरो साथी सर्कलको एउटा केटोले कल गरेर त्यस्तै त्यस्तै
कुरा गर्यो |
उसको भनाइ
अनुसार, उसले
अहिले सम्म देखेको, भेटेको केटीहरु मध्ये म नै सबै भन्दा राम्री अनि असल अरे | मान्छेहरु अरुलाई फुर्क्याउन के के भन्छन भन्ने मलाई थाहै नभए जस्तो क्या !
उसले अहिले
सम्म कसैलाई आफ्नो गल्फ्रेंड बनाएको छैन रे ! कतिन साँचो र झुट बिचको भेउ नै पाउन
नसक्ने जस्तो मैले !
उसका कुराहरु
सुन्दै बनावटी, होमा
हो मिलाउदै मन मनै हासें | सब भन्दा बढी हासों त
मलाई त्यतिखेर उठ्यो जतिखेर उसले टिकट नै बुकिंग गरे जसरी भन्यो हेर अबको सात दिन
पछी भ्यालेन्टाइन छ तिमीलाई त्यो दिनको लागि भनेर आजै भनी राख्छु, बुझ्यौ ? त्यो दिनमा एक कल गरेर एक राउण्ड प्रपोज चै दिने हो | तिम्रो जवाफ के हुनेछ त्यो पनि मलाइ थाहा छ किनकि मेरो शब्दहरु सुने पछी
जो कोही पनि लट्ठ परेकै हुन्छ | बस मेरो कललाई पर्खेर बस
मात्र न !
उफ्फ़, अब त्यस्तो मान्छेसंग के
कुरा गरिराख्नु ? किन व्यर्थै प्रेम र जगत
प्रतिको मेरो धारणा बखान गरेर समय बर्बाद गरिराख्नु? ठाउँमा, अनि मान्छे संग पो कुरा
गर्नु त | मैले पनि थोरै मजाक
गरिदिए | ल ल हेरुम्ला केटो
कत्तिको आँटिलो रहेछ है त ? शब्दहरुको चयन कत्तिको
फुर्दो रहेछ म पनि हेरुम्ला अनि त्यसपछि पाउनेछौ मेरो जवाफ !
बस, त्यो एउटा कल थियो तर यो
त अचम्मै भो भन्ने सोचे | यस्तो त मेरो जीवनमै भएको
थिएन | किन ? पुर्व सुचना दिएर प्रेमप्रस्ताब राख्ने कुरा ….यस्तो पनि कतै हुन्छ र ? खै, शहरतिर
यस्तो चलन पहिले थियो कि ? अथवा म नै यी प्रथाहरु
संग अपरिचित थिएँ कुन्नि ? भ्यालेन्टाइन भन्ने
पर्वको बारेमा थाहा पाएको पनि त्यस्तै ५ बर्ष अघि मात्र होला | त्यो पनि भत्किएको पिंढीमा रुंघिरहने बुढो हजुरवुवा जस्तो गाउमा भएको
डाँकघरमा गएर ३ दिन अघि जतिको बासी पत्रिका पढें पछी थाहा पाइने , ए , फाल्गुन यति गते यस्तो
चाड पनि मनाइदो रैछ है भनेर …| नत्र हामीलाई के थाहा ?
शहर पसेको पनि
कति नै भएको छ र? यो शहरले पनि मानिसलाई धेरै अनौठो कुराहरु अनुभब गर्ने बाटो दिँदो रहेछ !
नभन्दै फेब्रुअरी १४ पनि आयो, अनि उही तदाम्यताका साथ् गयो पनि | कागलाई बेल पाक्यो हर्ष न बिस्मात भने जस्तो ! यो शहरिया ठिटा ठिटीहरुको
प्रेम पनि एक दिने नै हुँदो हो क्यार ! बर्ष दिनमा एक दिन रौनकताका साथ् मनायो, सकियो | अरु दिन अरुथरिका प्रेम जटिलताका
कहानीहरु सुन्दा त त्यस्तै त्यस्तै लाग्छ | कहानीहरु
सुनिन्छ नि पत्रिका तिर, आफनै साथीको, अनि साथीको पनि साथीहरुको …ए म त
भ्यालेन्टाइन डे कै बिरोधी जस्तो देखिए क्यार ! त्यसो हो भने त प्रेम कै बिरोधी
जस्तो पो देखिए कि क्या हो ? तर, म त्यस्तो बिरोध गरिहाल्ने खालको मान्छे चै हैन के | कसको बिरोध गरेर मलाई के नै हुने हो र ? नजाने
गाउँको बाटै नसोध्नु भन्छन | यो शहरिया प्रेमको
चर्तिकला म बुझ्दै बुझ्दिन | फेरी यो प्रेम भन्ने
कुरा पनि कस्तो हो कुन्नि ? मेरो दिमागले पनि
भ्याउदैन कस्तो हो भनेर !
आफुलाई त गाउँबाट आमाले पठाईदिनु भएको कोशेली देख्दैमा
संसार भरको खुशी मिलेको थियो | आमाले मलाइ कति धेरै माया
गर्नुहुन्छ भन्या, किन मेरो लागि यति दुख गर्नु भाको होला भन्ने सोच्दैमा मख्ख थिएँ | संसार भरको प्रेम आमाले म माथि खन्याई दिनुहुन्छ यस्तो आभास हुदैथ्यो | के को भ्यालेन्टाइनको मतलब अनि को बसिरहोस त्यो पर्म जस्तो प्रपोजलाई
सम्झिएर !
अहिले भ्यालेन्टाइन डे ले नेटो काटेर गएको पनि धेरै दिन भै
सक्यो | ठ्याक्कै एक साता पछी उही केटोले फोन गर्यो अनि मैले केहि भन्नै नपाइ
(मैले कुन्नि के भन्न खोज्द्दै थिए !) बोल्यो : " सरि ल मैले अस्ति तिमीलाई
त्यस्तो भनेर आश देखाएको जस्तो मात्र भो म आफु आफै संग लज्जित छु यार ! तिमीलाई
पर्पोज गर्छु भनेर त्यत्रो प्लान बनाए तर आफैले सकिन माइन्ड नगर ल !"
हरे शिब !!! यो शहरमा पनि अनौठो अनौठोका मान्छे भेटिने रहेछ
मैले त केहि बुझ्नै सकिन यी मानिसहरुको लिला ! कत्तिन, मैले उसकै फोनको पर्खाइमा
जिन्दगी गुजारिरहेको जस्तो ! सायद मानिसहरुलाई म जस्तै सोझो मानिसहरुको मजाक बनाउन
खुब रमाइलो लाग्दो हो ! यधपी यी सब कुराहरुलाई मैले गम्भीर रुपमा नलिएको र त्यसमा
भावानात्मक रुपमा सरिक नभएको कारणले म मज्जाकको पात्र बनिन भन्ने कुरामा ढुक्क छु | अब जाँदा जाँदै केही प्रश्न …
यो कस्तो अवस्था हो ?
उसले प्रेम प्रस्ताब राखेकै हो त ?
पूर्व सुचना दिए अनुसार हैन भन्न पनि सकिन्न, पछी नभने अनुसार हो नै
भन्न पनि सकिन्न | खै जे होस्, झुटो होस् या साँचो होस् यसलाई एउटा रोचक प्रेम प्रस्ताब भनी टिप्पणी चै
गरिदिएको छु, कि कसो ?
Earlier posted in Xnepali.net/np

Comments
Post a Comment