टेन्स मिल्ने सेन्स नमिल्ने कुरा गर्नेहरु देखि …
कुरा करिब ७ महिना अघिको हो | मलाई कुनै कामको अफर गर्दै एउटा कल आउने
वाला थियो | म त्यसैको प्रतीक्षामा थिए | जब फोनको घन्टी बज्यो एउटा पुरुष आवाज मेरो कानमा आएर ठोक्कियो
"हेलो, हजुर ऋतु जी
बोल्नु भएको हो? उहाँ संग थोरै काम भएर कल गरको …|"
"हजुर म नै हुँ ऋतु, भन्नुस के काम थियो होला? "
"ए मेरो नाम शैलेश..हजुरको साथी
संगीताले मलाई यो नम्बर दिनुभएको थियो | हजुरसंग कामको
शिलशिलामा केहि कुरा गर्नु छ के हामी एकछिन भेटेर कुरा गर्न सक्छौ? "
"हवस् किन नहुनु ? बरु समय स्थान बताइदिनु भए बेश हुन्थ्यो |"
"भोलि ३ बजेतिर लैनचौरतिर आउनुस न त
हुन्छ?"
"हुन्छ म कल गर्नेछु त्यसो भए भोलि
त्यहाँ पुगेर |"
"हवस् त त्यसो भए अहिलेलाई राखौ है त?"
"हुन्छ "
काठमाडौँमा काम पाउन गाह्रो हुन्छ भन्ने सुनेकी थिए तर आएको
३ दिनमै कामको लागि फोन आउदा मलाई औधी खुसी लाग्यो | र यो संयोग मेरी साथी संगीतबाट जुरेको थियो
|
नचिनेको, नदेखेको मानिसलाई पहिलोचोटी भेट्नु बढो दुख
हुने रहेछ तर रमाइलो पनि | त्यो मेरो जीवनकै पहिलो अनुभव
थियो | भेटमा परिचय आदान प्रदान गरियो | पढाइ अनि अन्य सिपहरुको कुरा भयो | उसले मलाई २ वटा
अप्सन दियो | एउटा टाइपिस्टको अनि अर्को प्रोग्राम
प्रिजेंटरको | दुवै मिडियासंग सम्बन्धित थिए | ऊ आफै पनि मिडियामै काम गर्ने मान्छे रहेछ | आफ्नो
धेरै ठाउँमा कनेक्सन भएको र मलाई चाडो भन्दा चाडो काम दिलाइदिने कुरा समेत गर्यो |
यति ठुलो मानिस मेरो सम्पर्कमा आएको रहेछ भन्ने सोच्दै फेरी पनि
मख्ख परे | भोली उसको अफिसमा केहि कामको आइडिया सेयर गर्न
मलाई लैजाने बाचा सहित हामी छुट्टियौ | कोठामा आए | सबैसंग फेरी यो कुरा सेयर गरे | सबैजना खुसी हुनु भो
मैले चाडै काम पाउने भए भनेर | बेलुका जसो फेरी उसले कल
गर्यो | खानपिनको कुरो सोध्नलाई रे | अब
औपचारिकता त आफुले पनि निभाउनै पर्यो ! मैले पनि सोधिदिए |
भोली पल्ट उसको अफिस जाने कुरो भाथ्यो तर खै किन हो
दोहोर्याएर त्यो कुरो गरेन | उसले अफर नै गरेन | बिर्सियो
कि कुन्नि ? मैले पनि सोध्ने कुरा आएन त्यसै छोडिदिए त्यो
अफिसवाला प्रसङ्ग | तर पनि उसले फोन गर्ने क्रम भने जारि
थियो | कहाँ हुनुहुन्छ ? के गर्दै
हुनुहुन्छ ? चिया पिउनुभो ? काठमाडौँको
ठाउमा धेरै बाहिर नडुल्नु, अरुको बिश्वास नगर्नु आदि इत्यादि
गफहरु तर कामको कुरो चै गर्नै नखोज्ने | म चै उसको काम
दिलाइदिने आस्वाशनमै अल्झिरहेको थिए | कुरैकुरामा उसले मलाई ‘तपाई अरु केटीहरु भन्दा भिन्दै लाग्यो एकदम असल लाग्यो , हाम्रो भेटघाट भै राख्नु पर्छ है समेत भन्न भ्यायो | मेरो लागि यी प्रशंसाका शब्दहरु पुरानो थिए |
त्यसैले यसमा कुनै वजन भेटिन | फेरी मलाई आम
केटीहरु भन्दा पृथक बन्नु पनि छैन | त्यसरी अरुले टिप्पणी
गर्दा मख्ख पर्नु पनि छैन | केटीहरुको मुख्य दोष नै यहि निर
छ कि उनीहरु आम केटीहरु भन्दा पृथक देखिन चाहन्छन | अनि त्यो
भन्दा बढी पृथक भएको कुरा सुन्न मन पराउछन | परिणाम के हुन्छ
, भैरहेको छ त्यो सबैले जानेकै कुरा हो |
त्यसपछि मलाई यो मान्छेबाट मेरो कामको टुंगो लाग्नेवाला छैन
भन्ने महशुस हुन थाल्यो | अनि मैले उसले धेरै पटक दिएको कफी पिउने
निम्तोलाई पनि आलटाल गर्दै गए | धेरै प्रयास गर्दा पनि नमिले
पछी उसले एक दिन फेरी भन्यो "तपाईं त कस्तो निष्ठुरी यार !!" मैले
हाँसेर टारिदिए | के गर्नु निष्ठुरी नै सहि | निष्ठुरी पनि हुनु पर्दो रहेछ बेला बेलामा | बिनाकामका
मान्छेहरु संग अल्मलिएर पनि के काम ? म चाहन्छु कमसेकम मैले
संगत गर्ने मान्छेबाट मैले केहि कुराहरु सिक्न सकूँ | उसको
जीवनका किस्साहरु सुन्न सकूँ | आफ्नो मनमा उठेका जिज्ञाशाहरु
सुनाउन सकूँ , सोबारे छलफल गर्न सकूँ | तर मिडियामा लागेको मान्छे (काम नमिले पनि) उबाट मैले धेरै कुराहरु सिक्न
पाउछु होला भन्ने आशा राख्नु पनि बेकार भो | त्यो बेला झलनाथ
खनाल प्रधानमन्त्री निर्बाचित हुनुभएकै दिनमा जब उसले मलाई कल गर्यो मैले मिडियामा
काम गर्ने मान्छे भएको नाताले उत्साहित हुदै नेपालले नयाँ प्रम पाएको कुरा सुनाउदा
उसले के जवाफ दियो थाहा छ ? उसको बेतुकको कुरा सुन्दा मलाई
खुब हाँसो छुटेको थियो | उसले भन्यो ‘सायद
तपाईको वरिपरी तपाइको परिवारको कोही छ होला | त्यहि भएर कुरा
गर्न असहज भएर यस्तो कुरा गर्नु भएको हो ?’ रे …हाहाहा… माधबकुमार नेपालले राजिनामा दिए पश्चात धेरै
समयको सरकार विहिनताको अवस्थालाई चिर्दै देशले नयाँ प्रम पाउदा त्यो चर्चाको बिषय
बन्नु स्वाभाविक नै त थियो नि तर उसले यसमा मेरो असहजता कसरी देख्यो कुन्नि ?
त्यसमाथि झलनाथ र झापडको तालमेल मिलेको त्यो रमाइलो माहौलमा एउटा
सचेत नागरिक संग देशको परिवेशको कुरा गर्नु बेठिक हो र? केटाहरु
अक्सर के सोच्छन ? अनि किन यस्तो सोच्छन ? यदि परिवारकै साथमा थिए भने पनि उसंग कुरा गर्न असहज मान्नु पर्ने हामी
बीच त्यस्तो के सम्बन्ध थियो र ? म त छक्क परे बाबा !!!
म त २०/२५ दिनको अवधिमै ऊ देखेर दिक्क हुन थाले | वाहियात कुराहरु ….एकदिन फेरी म साथीहरु संग बजार डुल्दै थिए उसले फेरी कल गर्यो | मैले रिसिभ गरे | फेरी उसको कर्कस आवाज ठोक्कियो
कानमा .."हेल्लो ऋतु तिमी कहाँ छौ हँ? आज मेरो फुर्सद छ
भेटौं न है एकछिन ? त्यो दिन भेटे देखि भेटघाट भएकै छैन |"
म झस्के उसले भेटौ न भनेर हैन कि उसको बोल्ने शैली बदलिएको सुनेर |
‘ऋतु जी’ बाट ‘जी’
हटेर ‘हजुर’ बाट ‘तपाईमा’ झरेर अहिले त ‘तिमी’
समेत भन्न थाल्यो | यो मान्छेले त अत्ति गर्यो
त बाबा !
साच्चिकै ठुलो पल्टिन खोजेको हैन तर सम्मानको बदला सम्मान
पाउनु पर्छ भन्ने मेरो मान्यता हो | यो कुरा सानो हो भनि सोचु भने पनि सबथोक
यहि शब्दमै त छ नि | सम्मान दिने पनि यहि शब्द अपमान दिने
पनि यहि खुसी दिने पनि यहि शब्द दुखि बनाउने पनि यहि त्यसैले यो प्रकारको परिवर्तन
मलाई कत्ति पनि पाच्य हुदैन भन्या| कहिले काही उदेक पनि
लाग्छ कि यो तँ, तिमी, तपाईं, हजुर जस्ता भेदभाबकारी शब्दहरु हाम्रै शब्दकोशमा किन छन ? यिनै सम्बोधनहरु ले नै कहिले कहिँ कस्तो अफ्टेरोमा पार्छ | आफुसंग मिल्ने साथी वा आफूभन्दा ठुलाले ‘तँ’ भने पनि केहि फरक नपर्ने मलाई त्यो को हो को मान्छेको त्यस्तो नाटक मनै
परेन | अनि उसंग कुरानै गर्न छोडिदिए | उसको फोन पनि रिसिभ गर्न बन्द गरिदिए | तर उसले फोन
भने गरिरहन्थ्यो | अत्ति नै भो भनेर फेरी एक दिन फोन उठाएर
कुरा गर्न खोजेको त उसको आवाज फेरी बज्र बाण बनेर ठोक्कियो | "नानु अचेल किन मेरो फोन रिसिभ गर्दैनौ ? मबाट के
गल्ति भो भन | फोन त उठाउ कमसेकम |" नानु नानु नानु !!! उसले एक पटक भनेको सम्बोधन मेरो कानमा बारम्बार
गुन्जिरह्यो | हैन उसले बैनी सोचेर पनि त भनेको हुन सक्छ नि
आफैलाई सम्झाउने कोसिश पनि नगरेको हैन | तर उसले आज सम्म मलाई
बैनी भनेको याद नै आएन | यस्ता कुराहरु सायद अरुको लागि केहि
होइनन होला तर म सारै ठुलो रुपमा लिन्छु | के गर्ने म छु नै
यस्तै | त्यसपछि मैले उ बाट सदाको लागि छुटकारा पाउने अठोट
लिए | अनि, मैले जे गर्नु पर्थ्यो
त्यही गरें |
त्यस्तो मान्छे जसलाई मैले टेन्स मिल्ने तर सेन्स नमिल्ने
कुरा गर्ने वर्ग भित्र राखेको छु त्यो मान्छेबाट छुटकारा पाउदा अचेल आनन्द लागेको
छ तर यो त एउटा नमुना घटना मात्र हो अहिले पनि म त्यस्तै मान्छेहरुको भिडमा अझ्लिन
पुग्छु अनि फेरी पन्छाउने कोसिश गर्छु | यस्तो गर्दा गर्दै मैले अब राम्रै संग
मान्छेहरु चिन्न र पन्छाउन जानिसके जस्तो लाग्ने गर्छ | सायद
यो आम केटीहरुको समस्या होला | उनिहरुले यस्तो बेला के कस्तो
गर्दा हुन् भन्ने जिज्ञाशा पनि बेला बेला मनमा उब्जिरहंछ |
Earlier Posted in xnepali.net
.jpg)
.jpg)
Comments
Post a Comment