मेरी हजुरआमाको हिन्दी सिरियल मोह
सन् १९६८ तिर हजुरबुवा भारतीय सेनामा कार्यरत हुदै गर्दा
मेरी हजुरआमा त्यतै नागाल्यान्डको फ्यामिली क्वाटरमा आश्रित हुनुहुन्थ्यो रे !
अहिले पनि हजुरआमा ती दिनहरुलाई बारम्बार सम्झिने गर्नुहुन्छ | उहाँले त्यहाँ बिताउनु भएको
समयको रोचक कहानीहरु सुन्न मलाई औधी मनपर्छ | नागाल्याण्ड
बासीहरु जसलाई हजुरआमा ‘नागा’ भनेर
सम्बोधन गर्नु हुन्छ, उनीहरुको रहनसहन, वस्त्र, जातीइतर् मानिससंग गर्ने ब्यबहार सबै अनौठो
थियो भनि बताउनु हुन्छ | नेपालको एक बिकट गाउँबाट सात
समुन्द्र पारी ( उहाँकै शब्दमा ) जाँदा ती परिवेशहरु अनौठो लाग्नु स्वाभाविकै पनि
हो | त्यसमाथि घरायशी सीमाको सानो संसारबाट बाहिर चियाउन
नसक्नाले ती परिवेशहरु जहिल्यै असहज भएको अनुभव रहेछ उहांसंग | देशको चौघेराबाट बाहिर जाँदा अशिक्षित् व्यक्तिलाई पर्ने भाषागत समस्याले
उहाँलाई पनि धुरुक्कै रुवाएको रैछ | हजुरबुवाको सरुवै पिच्छे
स्थान फेरी फेरी लगभग ४ बर्ष भारत बस्दा पनि हिन्दीमा जम्न गारो भएको थियो रे
उहाँलाई | अचेल समय केहि बदलिएको छ | हजुरबुवा
बित्नुभएको ८ बर्ष पुग्यो | उहाँसंग बिताएका दिनहरुको याद
अहिले पनि ताजै होलान तर हिन्दी नबुझ्दा हजुरबुवाले नै उल्था गरी
बुझाउनु पर्ने अवस्था अहिले छैन | किनकि अचेल हजुरआमाले
हिन्दी सिरियल हेर्न थाल्नुभएको छ |
हजुरआमाले सिरियल हेर्न सुरु गर्नु अघिको घर भित्रको कहानी
पनि रोचकै थियो | सानो परिवार पनि हिन्दी र नेपाली कार्यक्रमको लागि अघिल्लो र पछिल्लो
पिढीमा हानथाप हुदा आमालाई त्यो बिबाद मिलाउन हम्मे हम्मे पर्थ्यो | पछी त अंशबन्डा नै गरे जसरी टिभीका कार्यक्रमहरु हेर्न भनि दुइवटा टिभीमा
विभक्त हुने पर्यो जाबो ६ जनाको परिवारलाई पनि |
त्यसपछि भने आआफ्नो संसारमै रम्न थाल्यौ आआफ्नो रोजाईको कार्यक्रम
हेर्दै |
अहिले आएर त्यो परिवेश पनि बदलिएको रहेछ | म आफ्नो कामको सिलसिलामा घरबाट
करिब एक वर्ष जति बाहिर रहन पुगें | बिदा मिलाउदै घरतिर
हन्निदा त्यो परिवेश नै फेरिएको पाए | किनकि हजुरआमा बदलिनु
भएछ | अचेल हजुरआमाले हिन्दी सिरियल हेर्न थाल्नुभएछ |
साच्चैं, मलाई यो कुरा निकै रोचक लाग्यो |
पहिले बिज्ञापन अवधिभर पनि च्यानल फेर्न नचाहने मान्छे अहिले
"हिटलर दिदि", "प्रतिज्ञा"
जस्ता सिरियल हेरेर मनोरंजन लिनुहुन्छ | दोहोर्याउने शोहरु
पनि हेरेर नथाक्ने हुनु भएछ | अरु त अरु अचेल हजुरआमा हिन्दी
समेत बुझ्नु हुन्छ | त्यसैले त फुर्सदको बेला आफ्नो
दौंतरीसंग बिगतका अनुभबहरुको गफ झिक्ने मान्छे अचेल उही सिरियलमा भएका उहाँलाई रोचक लाग्ने घटनाहरु सुनाउनुहुन्छ |
हजुरआमामा आएको यो परिवर्तनलाई म ब्यङ्ग गरिरेकी छु भन्ने
चाहिँ पट्टक्कै नसोच्नुहोला | महिलाहरुको सिरियल प्रेम प्रति समाजमा जसरी
व्यंग्य गरिन्छ म मा त्यो भावना छैन | हरेक कुराको राम्रो
नराम्रो पक्षहरु त भई नै हाल्छ | हिन्दी सिरियलको नाटकीय
मोडहरु हेर्दा अलि बढी नै भो है भन्ने पनि लाग्छ | तर सब
बकवास हुन्, यो सोच्नु चै जुनसुकै कुराको गहिराइ नहेरी
चाँडो प्रतिक्रिया दिने बानीको उपज हो | फेरी,
म यहाँ सिरियलहरुको वकालत गरिरहेकी पनि
छैन | म त्यसको न त पक्षमा छु न बिपक्षमा | बस, यति मात्र भनिरहेकी छु कि महिलाहरुको सिमित
घेराभित्रको सानो संसारलाई नचियाई हावादारी प्रतिक्रिया दिनु चै पूर्वाग्रह मात्र हो | कमसेकम त्यो संसारलाई एकछिन
नियाल्ने प्रयास गरेर त हेरौ | उनीहरुकै दृष्टिबाट उनीहरुको
संसारलाई हेर्दा त्यो कति सुन्दर देखिन्छ, मानिसहरुलाई
त्यसको अन्दाज नै छैन | बस् लागिरहन्छन आफ्नो सुगा रटाइजस्तो अभिव्यक्तिको पक्षपोषण गर्न तिर !
तत्कालको लागी त म मेरी हजुरआमाको परिवर्तित रुपको बारेमा
सोचेरै दङ्ग परिरहेकी छु अनि सोचिरहेकी छु यदि १९६८ ताका मेरी हजुरआमा संग टिभी
हुदो हो त सिरियल नै सहि कम्तिमा त्यही हेरेर अप टु डेट हुदै दुनियादारिका कुरा सिक्नु हुन्थ्यो
होला | थोरै हिन्दी पनि बुझ्नु हुन्थ्यो होला | अनि कोठामा चामल सकिदा आफ्नो सन्तानको भोक शान्त पार्न पनि श्रीमान कै
बाटो लाचार हुदै कुर्नुपर्ने थिएन होला |
मेरी हजुरआमाको सिरियल मोहलाई महशुस नगर्दा म पनि उही
हिन्दी सिरियलले मान्छे बिगारे भन्ने सोच्थें | आमरुपमा जे सुनेको थिएँ, त्यही त सोच्न पुगे नि ! तर जब हजुरआमा सिरियल हेरेर रमाउन थाल्नुभएको
कुरा देखें तब मात्र मैले यसको थोरै फाइदाहरु देख्न थालें |
कहिले कहिँ त, हिन्दी भाषाले देश नै निल्ने भो भनेर हैरान
पनि हुने गर्छु | फेरी सोच्छु,
के भो त विश्वव्यापीकरणको यो युगमा धेरै भाषा जान्नु यो पनि त फाइदा
नै त हो नि | जे होस् मेरी हजुरआमाको सानो संसारमा सिरियलले
ल्याइदिएको रौनक देखेर यतिखेर म दङ्ग परिरहेको छु | कमसेकम
हजुरआमा खुशी त हुनुहुन्छ | आफ्नो शेष जीवन सरल तरिकाले जीवन
व्यतित गर्दै हुनुहुन्छ, पुरा मनोरंजन सहित | त्यो भन्दा बढी हामीलाई अरु के चाहियो त !
Earlier posted in xnepali.net


Comments
Post a Comment