लास्टाँ त्यै हो
हरेक पटक जब शैक्षिक सत्र सुरु हुन्छ, ‘अघिल्लो साल जे भयो, भयो यो साल चै शुरु देखि नै नोट
बनाएर मिहिनत गरेर पढ्छु,’ भन्ने नयाँ जोश बढेर आउछ |
२/४ दिन त शुरु शुरुका कक्षाहरुमा खुब ध्यान पनि दिइन्छ | घरमा आएर त्यो दिन पढेको पाठ पनि घोकिन्छ | जसै
बिस्तारै बिस्तारै कोर्स अगाडी बढ्दै जान्छ, पढाइको रेलले
पनि आफ्नो लिक छोड्दै जान्छ | अनि त म डाँडा वारि मेरो पढाइ
डाँडा पारि !!
आफ्नो
पढाईलाइ आफ्नो प्रेमी मान्दी हुँ त "नदीको दुइ किनार जस्ता हामी एक अर्काको
मिलन असम्भव हुने भो " भन्दै २/४ हरफका कबिता पनि कोरी टोपल्थें होला | तर शुरु शुरुमा पढाईसंगको प्रेम जुर्मुराए पनि लास्टाँ गएर त्यै हुन्छ,
के गर्नु?
यो
सब रमिते जीवनको रमिते चालामालाले गर्दा हुन गएको हो भन्ने पनि थाहा छ | अनि, भोलिबादले पनि राम्रै चलखेल गरे झैँ नि लाग्छ |
कहिले नयाँ फिल्मको फस्ट शो, कहिले साथीहरुको
जन्मदिन, बिहाबर्तन, बीचबीचमा पर्ने
प्रेमदिवस देखि लिएर ५/६ वटा नयाँ बर्षहरु (लोसार सहित) अनि, कहिले क्याम्पस वा विभिन्न अखडाबाट सुरु भएर खुलामंच सम्म टुंगिने बिरोध,
नारा जुलुस जस्ता कार्यकर्म | बन्दको त अझ
हिसाब नै नगरम | के गर्नु जिन्दगीको क्यालेण्डरमा यस्ता चाड,
पर्व, महोत्सब, कार्यक्रमहरुको
खात त कति हो कति ! अनि, कसलाई फुर्सद हुन्छ र यस्तो
रमितादेखी पर शान्त बनी ज्ञान आर्जन गर्न वा पढ्न ?
यी
सबका बाबजुद पनि एउटा सन्त मस्तिष्कले भन्छ "यस्तो पाराले त जिन्दगी साच्चै
रमिता बनेर रहनेवाला छ | त्यसैले, शान्त
बनेर ज्ञान कमाउन तिर लाग बालिके!" तर, भोलिवाद्को
मन्त्र जप्न सिपालु यो मनले त्यसो कहाँ हुन दिन्छ र ? "ह्या आजलाई भैगो नि त, भोलि देखि पढ़ुम्ला,"
भन्ने उर्दी जारी गरिहाल्छ | त्यसो हुदाँ,
जिन्दगीको क्यालेण्डरमा त्यो भोलि कहिल्यै आउदैन | बस, भोलिको पर्खाइमा पौडिदा पौडिदै परीक्षारुपि
चट्टान सामुन्ने आएपछि मात्र झसङ्ग भईन्छ |
त्यसपछि
के हुन्छ, एकै छिनमा बताउला है ! पहिला मलाई ह्या
अलिकति थ्री इडियट भन्ने फिल्मको कुरा मिसाई हाल्न मन लाग्यो त्यसले पनि शिक्षा
सम्बन्धि कुराहरुनै समेट्ने भएर …|
त्यो फिल्म पनि लगभग ५ पटक त हेरियो होला | जति चोटी हेर्यो त्यति नै चोटी ‘सफल हुन को लागि हैन
सक्षम् हुनको लागि पढ सफलता आफसे आफ प्राप्त हुन्छ’ भन्ने
अमिर खानको डायलगले झस्काएकै हुन्छ | कोसिश नगरेको पनि हैन |
मनमा त लाग्छ नि, छरिएर रहेका ज्ञानलाई समेटेर
पढु, बुझेर पढु ताकी समय आउदा त्यो ज्ञानको उपयोग गर्न सकूँ |
तर के गर्नु, अघि सुरुमै भने जस्तो यो रमिते
जिन्दगी जिउन अभ्यस्त भएको मान्छेलाई जति सम्झाए पनि नहुने … परिक्षाको मुखैमा आए पछी मात्र परिक्षामा सफल हुनको लागि असिन पसिन भएर
पढ्यो के दिमागमा घुस्थ्यो र? अझ, ज्ञान
आर्जन गर्नको लागि पढ्ने कुरो त परै जाओस | छरिएर रहेको
ज्ञानलाई दिमागमा समेटेर हैन सिमीत अवधिमा पढेको कथित ज्ञानलाई परिक्षामा कापीका
पानाभरी छरेर आइन्छ | धन्न अहिले सम्म "ए है, फलानाकी छोरी त राम्रै पढ़दी रैछ त पास भै त रेगुलर," भन्ने सम्म त भएको छ गाउँ ,वरपर ,छरछिमेकमा … |
अनि
त, यो सब जान्दा जान्दै कसलाई दोष दिउ ? शिक्षा प्रणालीलाई ? उसको पनि दोष नभएर त्यत्तिकै
कुरो उठेको त हैन होला तर ह्याँ आफ्नैं भद्रगोल जिन्दगी र पढाई भनेसी तीन कोश पर
भाग्ने मनास्तिथिलाई चै कसले दोष देओस ?
हुन
पनि, यो क्रम आज देखिको मात्र हैन | थ्री इडीयट प्रदर्शनमा आउनु पूर्व, धेरै बर्ष अगाडी
नै यस्तो अंतर्द्न्दमा फस्दै आइरहेकी हुँ | मलाइ याद भए सम्म
यो शिलशिला कक्षा ६ देखि नै सुरु भएको हो | सधै कक्षामा प्रथम
हुने यो मान्छेलाई त्यो साल अर्कोले उछिन्दिएर् दोश्रोमा झारिदिए देखिको यो मेरो
बिमारी पुरानो हो | अर्को साल त म कडा मेहेनत गरेर त्यसलाई
नजिती छाडदिन भनि प्रतिबद्ध पनि भएँ | त्यस यताको कहानी
अहिले सम्म पनि जारी छ | ‘यो साल जे जस्तो भए पनि अर्को साल
त राम्रो गर्ने हो,’ भनि चित्त बुझाउने बिमारी | अहिले सम्म पनि यो बिमारी भागेको छैन बस यसको रुप बिकसित भएको छ उमेर संग
संगै | अचेल यो बिमारीले पनि थोरै परिपक्वता देखाउने गर्छ |
पहिले त्यो बाल मस्तिष्कले अरुलाई जित्नको लागि र कक्षामा सबै भन्दा
प्रथम हुनको लागि पढ्न उक्साउथ्यो भने अहिले यो थोरै ज्ञानी भएको छ | अहिले अरुलाई जित्न नभई ज्ञान हासिल गरेर बुद्धिमान बन्न र सफलतालाई आफ्नो
पछाडी भगाउन उक्साउने गर्छ |
भलै
यहाँ शैक्षिक् बेरोजगारहरु बढेको थाहा छ तै पनि शैक्षिक् सत्रको सुरुतिर त्यो
उक्साहटले उचाई लिन्छ अनि अघि नै भने जस्तो शिलशिला दोहोरिन्छ …..शुरु शुरुमा जति जोशिए पनि के गर्नु ? जति गरे नि
लास्टाँ त्यै हो क्यारे |
जे
होस्, विश्व बिध्यालयको दैलोभित्र छिरेर पढ्दै
गर्दा अर्कोसाल राम्रो गर्ने रट लगाउने दिन पनि धेरै बाँकी छैन भन्ने महसुस चै हुन
थालेको छ |
अन्तमा, म यहि भन्न चाहन्छु कि यस कथाको घटना तथा पात्रहरु काल्पनिक नभई सत्य हुन् कसैको बास्तबिक जीवनसंग मेल खान गएमा संयोग मात्र हुनेछ |
अन्तमा, म यहि भन्न चाहन्छु कि यस कथाको घटना तथा पात्रहरु काल्पनिक नभई सत्य हुन् कसैको बास्तबिक जीवनसंग मेल खान गएमा संयोग मात्र हुनेछ |
(भलै मलाई
थाहा छ, यो कथा अरु जोसंग पनि मेल खान सक्छ र त्यो कुनै
संयोग मात्र हैन भनेर….के गर्नु चली आएको चलन त निभाउनै
पर्यो !)
अस्तु
|
Earlier posted in : xnepali.net

Comments
Post a Comment